अब जलविद्युत आयोजनाको पीपीए खोल्ने विद्युत प्राधिकरणको निर्णय, प्रवर्द्दकलाई राहत

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त ९पीआरओआर० र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।

प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो । प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्रि सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ ।

यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण संचालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्‍याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

सो मार्गचित्रले सन् २०३५ सम्म नेपालको कूल विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । ‘सो लक्ष्य प्राप्तिका लागि हाललाई १२ चैत २०८१ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरूको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत् खरिद बिक्रि सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ प्राधिकरणले जनाएको छ ।

त्यसरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूसँग क्रमैसँग विद्युत् खरिद बिक्रि सम्झौताको कारबाही अगाडी बढाउने निर्णय विद्युत् प्राधिकरण व्यवस्थापनले ३० वैशाखमा गरेको पनि प्राधिकरणले जनाएको छ ।