अरूको अभियानमा राप्रपालाई मिसाउन नहुने मत बलियो

काठमाडौँ — राप्रपाको बैठकमा कसैको अभियानमा पार्टीलाई मिसाउन नहुने बलियो मत प्रस्तुत भएको छ । राप्रपा नेताहरूले विशेषगरी राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहसँग सहकार्य गरेर आन्दोलनमा जान नसकिने स्पष्ट धारणा राखेका हुन् । मंगलबार भएको राप्रपाको कार्यसम्पादन समिति बैठकले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आफ्नै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।
प्रसाईंलगायत केही राजावादीले आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा समिति घोषणा गरेको भोलिपल्टै राप्रपाले छुट्टै आन्दोलनमा जाने निर्णय गरेको हो ।
बैठकमा नेताहरूले प्रसाईंको क्रियाकलाप अराजनीतिक हुनुका साथै राजनीतिक दल र नेतालाई अपमान गर्ने व्यवहारका कारण उनीसँग सहकार्य गर्न नसकिने धारणा राखेका थिए । प्रसाईंले राप्रपाको नेतृत्व नस्वीकार्ने नेताहरूको भनाइ थियो । पार्टीकै पुराना नेता सुवेदीलाई अलग्याएर जनआन्दोलन समिति बनाउनु र अन्य वरिष्ठ नेतालाई प्रयोग गर्नुले पनि प्रसाईं राप्रपालाई कमजोर बनाउन सक्रिय भएको उनीहरूको विश्लेषण थियो ।
राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले बैठकमा प्रसाईंको व्यवहारको आलोचना गर्दै सहकार्य गर्न नसकिने जनाएका थिए । सुवेदी नेतृत्वको समितिमा लोहनीलाई पनि राखिएको छ । समिति बनाउन सोमबार डिल्लीबजारमा बोलाइएको भेलामा उनी उपस्थित थिए । ‘पार्टीका नेताहरू उपस्थित थियौं, तर प्रसाईंले हाम्रै अगाडि हामीलाई गाली गरिरहेका थिए,’ लोहनीले बैठकमा भने, ‘उनको प्रवृत्ति नै अराजनीतिक छ । उनीसँग सहकार्य गरेर जान सकिने विश्वसनीय वातावरण छैन ।’ राप्रपाका अर्का वरिष्ठ नेता पशुपतिशमशेर राणाले पार्टीले गर्ने निर्णय प्रधान हुने भन्दै त्यसलाई स्विकारेर जान आफू तयार रहेको बताएका थिए ।
सुवेदीको नेतृत्वमा समिति बनाउन पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा बढी सक्रिय रहेर प्रसाईंलाई साथ दिएको भन्दै दुवै जनाको बैठकमा आलोचना भएको थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीले पार्टीको आन्दोलन परिचालन समितिको संयोजक राणाले सुवेदी नेतृत्वको समितिमा पनि त्यही जिम्मेवारी लिएकोमा प्रश्न गरेकी थिइन । सुवेदी नेतृत्वको जनआन्दोलन समितिको अवधारणा तयार पार्न वरिष्ठ उपाध्यक्ष मिश्रको भूमिका रहेकोप्रति पनि बैठकमा नेताहरूले प्रश्न उठाएका थिए ।